पत्रकार महासंघ पोर्तुगल र बेल्जियम शाखाले केन्द्रलाई मान्यताकालागि एकैसाथ अनुरोध गर्ने

२५ जुन, लिस्बन । नेपाल पत्रकार महासंघ प्रस्तावित पोर्तुगल शाखा र प्रस्तावित बेल्जियम शाखाले केन्द्रलाई मान्यताकालागि एकैसाथ अनुरोध गर्ने भएका छन् । पोर्तुगलको लिस्बनमा गत २० तारिख विहीबारका दिन भेला सम्पन्न भएको थियो भने बेल्जियमको मेखलेनमा सोमबार भेला सम्पन्न भएको छ ।
प्रस्तावित पोर्तुगल शाखाको संयोजकमा योगेन्द्रमिलन छन्त्याल सर्वसम्मत चयन भएका छन् भने सह संयोजकमा राजकुमार थापा र प्रवक्तामा पेम्बागेलु शेर्पालाई जिम्मेवारी दिइएको छ । तदर्थ समितिमा भगवान गिरी, बासु सत्याल, याम गुरुङ र निरञ्जन सापकोटा सदस्य रहेका छन् । प्रस्तावित शाखामा राजकुमार दिक्पाल र नारायण अर्याललाई सल्लाहकारमा चयन गरिएको छ ।
उता बेल्जियममा सम्पन्न भेलाबाट प्रस्तावित बेल्जियम शाखाको तदर्थ समिति संयोजकमा ओम शर्मा चयन भएका छन् । सचिवमा शेरबहादुर छन्त्याल र कोषाध्यक्षमा निलम सापकोटा निर्वाचित भएका छन् । विहीबार बस्ने बैठकले थप सदस्यहरुको टुङ्गो लगाउने संयोजक शर्माले बताएका छन् ।
दुवै देशका भेला महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र युरोप शाखाका अध्यक्ष केजीन राईको उपस्थितिमा सम्पन्न भएका थिए । दुवै प्रस्तावित शाखाले शाखाको मान्यता प्रदान गर्नका लागि केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।
पोर्तुगलमा ‘प्रवासमा नेपाली पत्रकारिता र मिडिया काउन्सिल विधेयक’ विषयक अन्तर्कृया गरिएको थियो भने बेल्जियममा पत्रकारहरुका लागि प्रशिक्षणको कार्यक्रम राखिएको थियो ।